खेलको ३३औं मिनेटमा सङ्‍कटा क्लबविरुद्ध पुलिसलाई २_१ को अग्रता

  • 48
    Shares

काठमाडौं,१६ पुस । नेपाल पुलिस क्लबका सुमन लामाले ३३औं मिनेटमा गोल गर्दै कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सङ्‍कटा क्लबविरुद्धको खेलमा २_१ को अग्रता बनाएको छ।

सुमनले मैदानको लगभग बीच भागबाट एक्लै बल अगाडि बढाएर वान् भर्सेस वान् मा सङ्‍कटाका गोलकिपर विनय श्रेष्ठलाई विट गर्दै सुन्दर गोल गरे।

अर्नेस्ट ताम्पीको आत्मघाति गोलबाट १५औं मिनेटमा १_० ले पछि परेको संकटा क्लबले १६औं मिनेटमै पुनरागमन गरेको थियो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा नेपाल पुलिसका खेलाडीले पेनाल्टी एरियाको दायाँतर्फबाट गरेको क्रसलाई क्लियर गर्ने क्रममा अर्नेस्टको खुट्टामा लागेर आफ्नै पोस्टमा गोल भएको थियो।

त्यसको एक मिनेट बित्न नपाउँदै नेपाल पुलिसका रक्षक अजित भण्डारीले पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि सङ्‍कटाले बराबरी गर्ने मौका पाएको थियो।

सङ्‍कटाका अमित तामाङले पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीलाई बराबरीमा फर्काए।

यसअघि खेलको १०औं मिनेटमा पेनाल्टी एरिया नजिकबाट सङ्‍कटाका सुवाष गुरुङले प्रहार गरेको फ्रिकिकमा अग्रता लिने मौका गुमाएको थियो।

पहिलो खेलमा च्यासल युथ क्लबसँग २_० को नतिजामा पराजित हुँदै प्रतियोगिताको सुरुआत गरेको सङ्‍कटा दोस्रो खेलमा न्युरोड टिम एनआटीलाई १_० ले हराएको थियो।

तेस्रो खेलमा जावलाखेल युथ क्लबसँग १_१ गोलको बराबरी खेल्दै अङ्‍क बाँडेको सङ्‍कटा आजको खेलमा जित तीन अङ्‍क जोड्ने लक्ष्य छ। यसअघिका तीन खेलबाट ४ अङ्‍क जोडेको सङ्‍कटा अङ्‍क तालिकाको १०औं स्थानमा छ।

पहिलो खेलमा हिमालयन शेर्पासँग गोलरहित बराबरीमा रोकिएको नेपाल पुलिस क्लब दोस्रो खेलमा थ्री स्टारसँग १_० को नतिजामा पराजित भएको थियो। तेस्रो खेलमा सरस्वती युथ क्लबलाई २_० ले पराजित गर्दै सुरुआती तीन खेलबाट समान चार अङ्‍क जोडेको नेपाल पुलिस आजको खेलमा दोस्रो जितको खोजीमा छ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्