काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार दिउँसो २ बजे बस्ने

काठमाडौँ,१५ पौष । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार दिउँसो २ बजे बस्ने भएको छ । संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच विवादका बीच केन्द्रीय समिति बैठक अघि बढाउने निष्कर्षमा संस्थापन पक्ष पुगेको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वमा रहेको असन्तुष्ट पक्षका दुई समूह नै संस्थापन पक्षले पार्टीमा एकलौटी निर्णय गर्न उद्यत रहेको भन्दै बैठकमा सामेल नहुने बताउँदै आएका छन् । आन्तरिक विवादका कारण काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक पटक पटक स्थगित हुँदै आएको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार सूचना जारी गर्दै पुस १७ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्ने जनाएका छन् । बैठकमा सहभागिताका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठकको एजेण्डा नखुलाइए पनि राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा छलफल हुने स्रोतको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्