अनलाइन ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ

काठमाडौँ । भाइबर, इमो लगायतका सामाजिक सञ्जालको प्रयोग गरि ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । भाइबर, इमो, ह्वाट्सएप, फेसबुकका माध्यमबाट चिठ्ठा परेको, पार्सल आएको छ भन्दै ठगी गर्ने गिरोहलाई महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोलखाका वर्ष ५२ का रमेश खड्का, नवलपरासीका वर्ष ३७ का विशेश्वर प्रसाद तिवारी र सोही ठाउँका संदिप कलवार रहेका छन् । पक्राउ परेका उनीहरुको सम्बन्ध नाइजेरियन नागरिक पिटर हेर्मन र बेलायती स्मिथ मोरिससँग रहेको प्रहरीले जनाएको छ ।

अनलाइन ठगीमा १० जना भारतीय नागरिक पनि संलग्न रहेको प्रहरीले जनाएको छ । सामाजिक सञ्जाल मार्फत ठगीधन्दा चलाउँदै आएका उनीहरुले विभिन्न बैंक तथा वित्तिय संस्थाहरु समेत ह्याक गरेको अनुसन्धानबाट खुलेको महानगरिय अपराध महाशाखा एसएसपी सहकुल थापाले बताए ।

नेपालमा ४० भन्दा बढी एजेण्टहरु रहेको र उनीहरुले अहिलेसम्म १५ देखि २० प्रतिशत कमिसन खाएर बाँकी रकम भारत पठाउने गरेका थिए । उनीहरुले नेपालका विभिन्न १७ वटा बैंकहरुबाट अहिलेसम्म १७ करोड ६७ लाख ९१ हजार रुपैयाँको कारोबार गरेको खुलेको एसएसपी थापाले बताए ।

थापाले अहिलेसम्म ३४ जना नेपालीहरु अनलाइन ठगीमा संलग्न रहेको र १५ जना अनलाईनबाट ठगी पीडितहरु प्रहरीको सम्पर्कमा आएको बताए । एजेण्टहरुले ठगी गरेर कारोबार गरेका बैंकहरुमा ह्याक हुन सक्ने सम्भावना रहेको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्