हल्दिवारीमा बेपत्ता परिवारलाई सम्मान: झापामा विविध कार्यक्रम गरी संविधान दिवस मनाइयो

झापा ४ असोज । आज नेपाल र नेपालीका लागि अधिकारसहितको कानून निर्माण भएको दिन । २०७२ असोज ३ गते संविधान जारी भएको दिनलाई हरेक वर्ष संविधान दिवसको रुपमा मनाइन्छ ।

नेपाली नागरिकले आफ्नो सबै अधिकारको प्रत्याभूति गर्न पाएको दिनको रुपमा मनाइन्छ । दिवसको अवसरमा संविधान दिवस मूल समारोह समितिले बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ । समारोहमा तीनै सुरक्षा निकाय र विभिन्न संघ संस्थाहरुले जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी, काठमाडौँ र ललितपुर महानगरपालिकाबाट विशेष झाँकी प्रदर्शन गरिएको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्री, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायत उपस्थित छन् । झापाका विभिन्न ठाउँमा विभिन्न संघसंस्थाले विविध कार्यक्रम गरी दिवस मनाएका छन् ।

हल्दिवारी गाउँपालिकाको आयोजनामा संविधान दिवस सशस्त्र दन्दको क्रममा मृत्यु भएका तथा बेपत्ता भएका परिवारलाई सम्मान गर्दै मनाएको छ ।

प्रदेश सभा सदस्य पूर्णसिंह राजवंसीको प्रमुख आतिथ्य तथा हल्दिवारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्ग्देनको सभापतित्वसम्पन्न कार्यक्रममा सहिद तथा बेपत्ता भएकाका आफन्तलाई नगद ५ हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियोे ।

विहीबार सम्पन्न हाजिर जवाफ प्रतियोगिताबाट घोषित प्रथम, द्धितिय, तृतीय क्रमशः जनजागृति मावी, हल्दिवारी मावी तथा चिल्ड्रेन एकाडेमीका विद्यार्थीहरुलाई २ हजार, १५ सय, १ हजार नगद प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियोे ।

संविधान दिवसको अवसरमा बिर्तामोड नगरपालिकाले संविधान निर्मातालाई सम्मान गरेको छ । यस क्षेत्रबाट संविधानसभामा प्रतिनिधित्व गरेका संविधान सभाका सदस्य सुधिरकुमार शिवाकोटी, मनकुमार गौतम र अमृतलाल राजवंशीलाई नगरपालिकाले कार्यक्रममा सम्मान गरेको छ ।

 

 

संविधान दिवसमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको प्रभातफेरीमा यस नगरभित्र रहेका सामाजिक संघ, शैक्षिक संघ संस्था, बैंक तथा वित्तिय संस्थाहरुको उल्लेख्य सहभागिता रहेको थियो । बिर्तामोडको मुक्तिचोकबाट शुरु भएको ¥याली बिर्तामोड परिक्रमा गरेको थियो । सो अवसरमा विभिन्न क्षेत्रमा उपस्थित प्रतिनिधिले संविधानको कार्यान्वयनमा जोड दिएका थिए ।

पूर्व सांसदहरु डिल्ली सिटौला, मनकुमार गौतम, सुधीरकुमार शिवाकोटी तथा राष्ट्रिय सभा सदस्य हरिचरण शिवाकोटीले जनताले लडेर ल्याएको लोकतान्त्रिक व्यवस्थालाई बचाइराख्न सबैको खबरदारी आवश्यक भएको बताए।

काँकरभिट्टा, धुलाबारी, चारआली, चारपाने, लक्ष्मीपुर, सुरुङा, झिलझिले, दमकलगायतका ठाउँमा स्थानीय संघ–सस्थाले विविध कार्यक्रम तथा नेपालको राष्ट्रिय झण्डा फरफराएर दिवस मनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्