शेखर सेढाई –
बारदशी,२१ माघ । झापाको बारदशीका एक युवाले आफ्नै कला कौशलले चारचक्के सवारी साधन बनाएर संचालनमा ल्याएका छन ।
बारदशी गाउपालिका वार्ड न.६ बिहिबारे का स्थायी बासिन्दा २३ वर्षीय शिवराम लिम्बुले पी-३०० पावरको ‘माइ ड्रीम’ नाम दिइएको चारचक्के सवारी साधन बनाएका हुन ।
हालै मात्र बनाएर संचालनमा समेत ल्याएका सो साधन लिएर उनी आफै घुमघाममा अहिले निस्कने गरेका छन ।
८० को स्पीडमा दौडन सक्ने क्षमता राख्ने सो सवारीले पीच सडकमा २५ र कच्ची सडकमा प्रतिघण्टा १८ सम्म माइलेज दिन सक्ने बताए । गरीब परिवारमा हुर्किएका लिम्बुले आफ्नो पढाइ संगै यो कामलाई निरन्तरता दिएको बताउछन ।
क़रीब ३ वर्ष लगाएर आफ्नै सोच र दिमाग खर्चेर ‘माइ ड्रीम’ बनाएको उनले ग्लोबल टिभी संचारलाई सुनाए ।
झट्ट हेर्दा टेम्पो जस्तो देखिने आधा मोर्डल भेन र कार ज़स्तो देखिने यो आफ्नै नया मोर्डलमा तयार गरेको लिम्बु बताउछन । दुई सीट क्षमता भएको नेपालको रास्ट्रीय झण्डाको स्वरूपलाई आकार दिएर निर्माण गर्न खोजिएको उनले सुनाए।
लिम्बुले यहाँ प्रयोग भएको इन्जिन, चक्का र स्टेरिङ बाहेक अरू सबै आफैले हातले बनाएर जोडेको बताए । पुरानो १२५ सीसीको मोटरसाइकलको इन्जिन यस्मा प्रयोग भएको छ । “चक्का (टायर) र हेन्डिल(स्टेरिङ)पनि पुरानो नै प्रयोग गरिएको छ।अन्य सबै प्रयोग गरिएका सामान कच्चा सामान खरीद गरेर साइज र आवश्यकता अनुसार बनाएर जोडेको हो” उनले भने ।
प्रयोग भएका सामानहरूमा फलाम,टीन,तार,प्लाइ,सिसा लगायत छन । इन्जिन सेटिङ निर्माण देखि वायरिङ,कारपेन्टर लगायत सम्पूर्ण तयारी आफै एक्लै ग़रेको उनको भनाइ छ।
यो सवारी साधन बनाउन कूल ४ लाख खर्च लागेको उनको भनाइ छ। जस्मा बारदशी गाउपालिकाले १ लाख १० हजार र ६ नम्बर वार्ड कार्यालयले २० हजार प्रदान गरेका थिए । बाकी २ लाख ७० हजार आफ्नै कमाइ बाट खर्च भएको उनको भनाइ छ ।
आर्थिक अभाब भएको कारण पढ़दै,कमाउदै बनाउन ३ वर्ष लागेको तर आर्थिक भए र अन्य काममा अलमल नभए ३ महिनामा पूर्ण रूपमा तयारी गर्न सकिने उनको भनाइ छ ।
उनले एसइइ दिनु भन्दा अघि बाट यो बनाउन शुरू गरेका थिए । हाल १२ पनि पास गरिसकेका छन तर आर्थिक अवस्था कमजोर भएको कारण थप पढाईलाई निरन्तरता दिन नसक्ने अवस्थामा रहेको उनी बताउछन ।
त्यसो त उनले यस अघि पनि रिमोट बाट चल्ने कार,मोटरसाइकल,हेलिकप्टर पनि बनाएर सफल परीक्षण गरिसकेको बताउछन। बच्चै अवस्था बाट आबिस्कार र प्रविधिको चिन्तनमा समय बिताएका लिम्बुले १६ वर्ष पुग्दा नपुग्दै रमोट बाट चल्ने साधन बनाइसकेका स्थानीय गाउलेहरू बताउछन ।
लिम्बुको क्षमता र प्रतिभालाई उच्च मूल्यांकन गर्नुपर्ने गाउपालिकाका अध्यक्ष खड्क राजबंशीको बुझाइ छ । उनको उच्च किसिमको क्षमता र प्रतिभा देखेर प्रोत्साहन गर्ने उद्देश्यले गाउपालिकाले सहयोग गरेको बताए । अध्यक्ष राजबंशीले राज्यले यस्ता प्रतिभाको खोजि गरी उनीहरूको काममा प्रोत्साहन गर्न कार्यक्रम ल्याउनु पर्ने बताए ।
गाउपालिका अध्यक्ष खड्क राजबंशी संग कुरा गर्दै निर्माणकर्ता शिवराम लिम्बु
लिम्बुले अब यो निर्माण पछि निकट भविष्यमा गुड़्ने साधन मात्र नभइ उड्ने पनि बनाउने तयारीमा रहेको बताएका छन।
कतै बाट आर्थिक सहायता जुटेमा ६ महिना भित्रमा हेलिकप्टर र हवाइजहाजको समिकरण गरेर नया मोडालिटीमा मिनी जहाज बनाएर उडाउने लक्ष्य रहेको बताए ।