नेपाली सेनाको सहयोगमा रतुवामाइ बृक्षारोपण आयोजनाले एक लाख बिरूवा रोप्ने …

कमल,२३ असोज । झापाको केरखामा रहेको रतुवामाइ बृक्षारोपण आयोजनाले यो वर्ष एक लाख बिरुवा रोप्ने प्लान्टेशन अभियान शुरू गरेको छ ।

शिवसताक्षी नगरपालिकाको वार्ड न ११ मा रहेको १ सय हेक्टर क्षेत्रफलमा फैलिएको जमिनमा टीक लगायत प्रजातिका बिरुवा लगाउन शुरू गरिएको आयोजना प्रमुख खेमलाल बिश्वकर्माले ग्लोबल टिभीलाई जानकारी दिनु भयो ।

प्लान्टेशनको लागि झापाको चारआली स्थित श्रीनाथ गणको बिशेष सहयोगमा रतुवामाइ आयोजनाले बिरूवा रोप्ने काम शुरू गरेको हो ।

आयोजनाको हाता भित्र रहेको १ सय हेक्टरमा रहेको जमिनमा आवश्यक तयारी गर्ने,खाल्डा बनाउने बिरुवा ढुवानी गर्ने र रोप्ने कार्यमा दैनिक नेपाली सेनाका ४५ जवानले श्रमदान गर्दै आएको श्रीनाथ गण चारआलीका प्रमुख सेनानी अम्मरजङ्ग थापाले जानकारी दिनु भयो ।

नेपाल सरकारको नीति अनुसार एक सेना एक बृक्षको अभियान अन्तर्गत वातावरण स्वच्छ र हरियाली बनाउने उद्देश्यले कार्यक्रम शुरू गरिएको प्रमुख सेनानी थापाले बताउनु भयो ।

एक लाख बिरूवा रोप्ने लक्ष्यका साथ शुरू गरिएको सो अभियानमा हाल सम्म २१ हजार बिभिन्न जातका बिरूवा रोपिसकेको आयोजनाका वरिष्ठ अधिकृत भक्ति गौतमले जानकारी दिनु भयो ।

खासगरी बर्षायाममा रोपिएको बिरूवा बढी हुर्कने संभावना भएकोले यहि समयमा आयोजनाले बिरूवा रोपन कार्य थालेको हो । आगामी कार्तिक सम्म थप बिरूवा रोपिने र बाकी आउदो जेठ असार बाट पुन:शुरू गरिने अधिकृत गौतमले बताउनु भयो ।

कूल एक लाख बिरूवा रोप्नको लागि श्रमदान बाहेक झाडी सफा गर्ने, जमिन मिलाउने,घेराबारा,बिरूवाको आयत खर्च लगायत सम्पूर्ण तयारी आयोजनाले गर्ने छ। जस्को लागि क़रीब १० लाख खर्च लाग्ने अनुमान आयोजनाले गरेको छ ।

२०५२ सालमा झापाको केरखामा स्थापना भएको सो आयोजना हाता भित्र २७ सय ५३ हेक्टर क्षेत्रफल जमिन रहेको छ । क्षेत्रफल मध्ये ९० प्रतिशत भन्दा बढीमा बिरूवा प्लानटेशन गरिसकिएको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्