उपत्यकामा निषेधाज्ञा तोड्ने ९,३४३ मानिससहित ४,२९९ सवारी साधन कारवाहीमा…

काठमाडौं,३१ बैशाख। काठमाडौं उपत्यकामा निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले एकै सातामा ९ हजार ३४३ मानिसलाई कारवाही गरेको छ ।

बैशाख २४ देखि ३० गतेसम्म एक साताको अवधिमा उपत्यकामा ४ हजार २९९ वटा सवारी साधनहरु पनि कारवाहीमा परेका छन् ।
सीसीएमसीको सचिवालयका अनुसार काठमाडौं उपत्यकामा निषेधाज्ञा सुरु भएको दोस्रो साता अर्थात बैशाख २४ गते एक दिनमा १ हजार १६ जनामाथि कारवाही भएको थियो ।

२५ गते यो संख्या बढेर १६ सय नाघ्यो भने २६ र २७ गते १८ सय नाघ्यो ।बैशाख २८ गतेदेखि भने उपत्यकामा निषेधाज्ञा तोड्ने मानिसहरुको संख्या घटेको तथ्यांकले देखाएको छ ।

सीसीएमसी सचिवालयका अनुसार निषेधाज्ञा सुरु भएको दोस्रो साता अर्थात बैशाख २४ गते ८१० वटा सवारी साधन कारवाहीमा परेका थिए । त्यसयता दिनको ५ सय बढी सवारी साधनहरु कारवाहीमा पर्दै आएका छन् ।

बैशाख ३० गते दिउँसो १ बजेसम्म ४५१ सवारी साधनहरु कारवाहीमा परेका छन् ।निषेधाज्ञा तोडेर बाटोमा निस्केका सवारी साधन र मानिसहरुलाई प्रहरीले केहीबेर सडक किनाराको ‘होल्डिङ’मा राखेर सम्झाई बुझाई घर पठाउने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्