११ वर्षीया बालिकामाथि बलात्कार प्रयास

विराटनगर, फागुन १५ । मोरङको जहदा गाउँपालिका–१ मा ११ वर्षीया बालिकामाथि एक पुरुषले बलात्कार प्रयास गरेको घटना सार्वजनिक भएको छ ।

गाउँका अगुवा र छिमेकीको दबाबमा एक सातापछि मात्रै गुपचुप पारिएको बालिकामाथि बलात्कार प्रयासको घटना सार्वजनिक भएको हो।

बलात्कार प्रयास भएको जानकारी दिन पीडित पक्ष इलाका प्रहरी कार्यालय रानीमा आएपछि घटना बाहिरिएको हो। घटनामा संलग्न विरुद्ध बिहीबार प्रहरीमा किटानी जाहेरी परेको छ। बालिकालाई चिनजान कै व्यक्तिले बलात्कारको प्रयास गरेको खुलेको प्रहरीको भनाइ छ।

प्रहरीमा जाहेरी पर्नुअघि नै घटनामा संलग्न ४५ वर्षीय राजेन्द्र सरवरिया फरार बनिसकेका पाइएको छ। प्रहरीले उनको खोजी तीव्र पारे पनि फेला पार्न नसकेको जनाएको छ। पीडित पक्षले बालिकामाथि पटक पटक बलात्कारको प्रयास भएको जानकारीसहित सरवरिया विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका हुन्।

जाहेरीअनुसार बालिकामाथि फागुन ६ गते दिउँसो ४ बजेतिर पहिलो पटक बलात्कारको प्रयास भएको थियो। सोही वडामा रहेको मामाको घरबाट आफू बस्दै आएको मावली हजुरआमाको घरतिर जाने क्रममा सरवरियाले फकाइफुल्याइ बाटैबाट नजिकैको मकैबारीमा लगेर बलात्कार प्रयास गरेको पाइएको छ।

बलात्कार प्रयासको हल्ला सबैतिर फैलिएपछि गाउँकै अगुवाले मिलाएर घटनालाई ‘गुपचुप’ राखेका थिए।

प्रहरीले घटनालाई मिलाउने प्रयास गर्ने र पीडित पक्षलाई मिल्न दबाब दिनेहरूलाई पनि कारबाहीको दायरामा ल्याउने भएको छ। मोरङ प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले ढिलो गरेर घटनाका बारेमा प्रहरीले जानकारी पाएको र पीडक भनिएका व्यक्ति फरार भइसकेको बताए।

उनका अनुसार घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाको नेतृत्वमा विशेष टोली परिचालित छ। थापा नेतृत्वको टोलीले बलात्कार प्रयास गर्ने व्यक्ति लुकेर बसेको हुन सक्ने सम्भावित स्थानहरूलाई लक्षित गर्दै खोजी व्यापक बनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्