राष्ट्रपतिले फिर्ता पठाएको राहदानी विधेयक पुनः अगाडि बढ्दै

काठमाडौं, २५ भदौ । राष्ट्रपतिले फिर्ता पठाएको राहदानी विधेयक पुनः अगाडि बढ्ने भएको छ।

राष्ट्रपतिले परिमार्जनका लागि फिर्ता गरेको विधेयक सरकारले बिहीबारको प्रतिनिधि सभा बैठकमा पेश गर्ने तयारी गरेको हो। प्रतिनिधिसभाले विधेयक आजै पेश गर्नेगरी कार्यसूची तय गरेको थियो। तर परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको समय अभावपछि विधेयक बिहीबार पेश हुने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सांसदहरुले राहदानी विधेयकले नागरिकको स्वतन्त्रता खुम्च्याउने ब्रिफ्रीङ गरेका थिए। लगत्तै राष्ट्रपति भण्डारीले विधेयक प्रतिनिधि सभामा फिर्ता पठाइदिएकी थिइन्।

कुनै पनि सरकारी निकायको पत्राचारको भरमा नागरिकलाई राहदानीबाट बञ्चित गर्ने विधेयकको प्रावधान गलत भएको भन्दै राष्ट्रिय सभाका सांसदहरुले राष्ट्रपतिसँग भेट गरेका थिए।

त्यस्तै विधेयकमा कुनैपनि व्यक्तिलाई गम्भीर प्रकृतीको मुद्दा लागे राहदानी नदिने प्रस्ताव थियो। सांसदहरुले मुद्दा लाग्दैमा राहदानी रोक्न नमिल्ने र अदालतको आदेश बेगर सरकारले राहदानी रोक्न खोजेकोमा आपत्ती जनाएका थिए। विधेयकले राहदानी जारी गर्ने विषयमा सरकारलाई तजबिजी अधिकारी दिएको भन्दै सांसदहरुले विरोध जनाएका थिए।

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले बिहीबार विधेयक प्रतिनिधि सभामा पेश हुने बताइन्। ‘विधेयक पेश भएपछि छलफल हुन्छ’ भुषालले भनिन्, ‘राष्ट्रपतिले परिमार्जन गर्नु भनेर विषयवस्तुबारे नै टिप्पणी गरेकाले परिमार्जन गर्नुपर्छ।’

संघीय संसद सचिवालयका एक कर्मचारीले विधेयक राष्ट्रिय सभाबाट परिमार्जन गर्ने तयारी भैरहेको बताए। ‘प्रतिनिधिसभामा छलफल गरेर पारित गर्ने र राष्ट्रिय सभामा परिमार्जन गर्ने तयारी छ,’ ती कर्मचारीले सेतोपाटीसँग भने, ‘विधेयक छिटो टुङ्गियोस् भन्ने सरकारले चाहेको छ।’

 

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्