काँग्रेसलाई सरकारमा जान हतार छैन : नेता बालकृष्ण खाँण

काठमाडौं, पुस १४ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँणले नेपाली काँग्रेसलाई सरकारमा जान हतार नरहेको बताएका छन् ।

प्रेस युनियन रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा खाँणले प्रदेश सरकारमा विभिन्न विकल्पहरुमाथि चर्चा हुन थालेकोतर्फ संकेत गर्दै काँग्रेसले अहिले सरकारका लागि दाबी नगरेको स्पष्ट पारे ।

उनले भने, ‘तत्काल सरकारमा जान हतार छैन । तर काँग्रेसबिना सरकार बन्दै बन्दैन भनेचाहिँ जानुपर्छ, मुलकलाई सरकारविहीन बन्न पनि दिनु भएन ।’

उनले कुन पक्षसँग मिलेर सरकार जाने भन्नेचाहिँ खुलाएनन् । तर मुद्दा नमिल्ने पक्षसँग सहकार्य नहुने उनको भनाइ थियो । ‘अहिले नै यही हुन्छ भनेर सबै भन्न सकिँदैन तर जुन परिस्थिति आउँछ, त्यही अनुसार चल्नुपर्छ,’ उनले भने ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावाद र अधिनायकवादको यात्रामा लागेको आरोपसमेत लगाए । प्रतिनिधि सभा विघटन गरी प्रधानमन्त्री ओलीले सर्वसत्तावाद लाद्न खोजेको उनको भनाइ थियो ।

खाँणले संसद विघटन गर्ने प्रधानमन्त्रीको प्रस्तावलाई राष्ट्रपतिले विचारै नगरी स्वीकृत गर्नुले सर्वसत्तावाद हावी भएको बताए । ‘प्रधानमन्त्रीले सुरुदेखि नै संविधानको बर्खिलाप एकपछि अर्को काम गर्दै आएको उनले प्रस्ट पारे । मिडिया विधेयक, मानव अधिकार विधेयक, राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग आफ्नो सिधै नियन्त्रणमा राख्ने कामले नै प्रधानमन्त्रीको उद्देश्य प्रस्ट देखिएको उनको भनाइ थियो ।

प्रधानमन्त्रीले संसद विघटनको प्रस्ताव राष्ट्रपतिकोमा लैजानु र विचारै नगरी राष्ट्रपतिबाट स्वीकृत हुनु असंवैधानिक कदम भएको बताउँदै उनले नेपाली काँग्रेसले संविधानको पक्षमा आवाज उठाउने बताए ।

संसदमा भ्रष्टाचारका मुद्दाहरुमा प्रश्न उठ्ने र जवाफ दिन सक्ने अवस्था नभएपछि संसद विघटन गरिएको उनको आरोप छ । आगामी वैशाखमा गर्ने भनिएको निर्वाचन पनि हुन सक्नेमा आशंका गर्दै उनले सरकार आफै निर्वाचन गराउने पक्षमा नरहेको टिप्पणी गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्