उद्धार उडान बन्द गर्न सीसीएमसीको सरकारलाई सिफारिस

काठमाडौं,२३ कात्तिक । कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार सकिएकाले उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आइतबार सरकारलाई सिफारिस गरेको हो ।

अहिलेसम्म एक लाख ३६ हजार दुई सय १६ जनाको उद्धार गरी स्वदेश फर्काएको सीसीएमसीले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले विभिन्न देशमा रहेका नेपाली कुटनीतिक नियोगहरूले लगभग उद्धारको काम सकिएको जानकारी गराएपछि उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय भएको बताए ।

कुनै देशबाट फेरि उद्धार गरी ल्याउनुपर्ने अवस्थामा नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउनुपर्ने सीसीएमसीको निर्णय छ । यसैगरी सीमा नाका हुँदै नेपाल भित्रिन १३ वटा प्रवेश विन्दु रहेकोमा बैतडीको झुलाघाट नाका सुरु गर्ने निर्णय पनि गरेको छ ।

यससँगै सीसीएमसीले केबलकार, जङ्गल सफारी र साहसिक पर्यटनका क्षेत्र खुला गर्न पनि सरकारलाई सिफारिस गरिएको सचिव गुरागाईले बताए । होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितको सङ्ख्या धेरै रहेको अवस्थामा स्वास्थ्य परामर्शका लागि पालिकाका वडाहरूबाट स्वास्थ्यकर्मीले परामर्श सेवा दिन अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

यस्तै कुटनीतिक नियोगका कर्मचारीका परिवारलाई पनि नेपाल आउन दिने निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफरिस गरिएको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्