कोरोना प्रभावितको पक्षमा राप्रपा,एक घर एक पीसिआर परिक्षण गर्न माग

दमक,२५ भदौ । झापाको दमकमा स्थानीय सरकारको खरो प्रतिपक्षी दलका रुपमा रहेको राष्ट्रिय प्रजातन्त्र पाटीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा स्थानीय सरकारका कमजोरी बुँदागत रुपमा औल्याएको छ । पार्टीका दमक नगर समन्वय समितिका टंक प्रसाद सिटौलाको अध्यक्षता एवं पार्टी नेता एवं एक नं प्रदेश अध्यक्ष राम थापाको प्रमुख उपस्थितीमा बसेको बैठकपछि जारी प्रेस विज्ञप्तीमा स्थानीय कोरोना भाइरस र यसले पारेको प्रभावका बिषयमा स्थानीय सरकार गम्भिर हुन नसकेको औंल्याएको हो ।

दमक नगरपालिकाका नागरिकको पहिलो र स्थानीय सरकार भएको र प्रत्येक सरकारले आफना नागरिकहरुको स्वास्थ्य र मौलिक हकको ग्यारेण्टी गर्नु पर्ने संवैधानिक व्यवस्था रहेको स्मरण गराइएको छ । उसले कमजोरी मात्रै औंलयाएको छैन सुझाव समेत स्थानीय सरकार समक्ष राखेको छ । राप्रपाले कोभिड–१९ का कारण दमक नगर भित्र क्वारेण्टाईन र आईसुलेसनमा बसेका नागरिकहरुले सुरक्षित महसुस गर्न नपाएको भन्दै उनीहरुको आत्मविश्वास र आत्मवल बढाउने गरी चिकित्सकहरुको सेवा र अन्य सुविधा लगायतको उचित व्यवस्थापन र बाताबरण श्रृजना गर्न माग गरेको छ ।

पिसिआर परिक्षण पछि कोरोना पोजेटिभ देखिएका नगरवासीहरुलाई समेत कोरोना लक्षण देखिएको छैन भनि संक्रमितहरुकै घरमा बसाँउदा एकातर्फ संक्रमितले चिकित्सकहरुको आवश्यक सल्लाह, सुझाव र प्राविधिक सेवा नपाएको र उनीहरुको मनोभावनामा नैराश्यता उत्पन्न भएको, डिप्रेसन उन्मूख भएको, परिवार भित्रै मनोबैज्ञानिक असर पर्नुका साथै महामारी झन व्यापक रुपले परिवारमा सर्ने त्रास बढेकोले संक्रमण पुष्टि भएका नगरवासीहरुलाई छुट्टै र व्यवस्थित आईसुलेसनको व्यवस्था गरी संक्रमितको उपचार गर्ने व्यवस्था मिलाउन पनि जोडदार माग गरेको छ ।

पिसिआर परिक्षणको दायरा फराकिलो बनाई कम्तिमा एक परिवार एक सदस्यको अनिवार्य पिसिआर परिक्षणको व्यवस्था मिलाउन,
साथै अन्य बिभिन्न रोगहरुबाट पीडित दीर्घरोगी, बृद्धबृद्धा, शारिरिक अशक्तता भएका र बालबालिकाहरु अस्पतालहरुबाट चिकित्सकहरुको सेवा नपाई छट्पटाई रहेकाले उनीहरुको उपचारका लागि व्यवस्था गर्न पर्ने माग गरेको छ ।
नगरवासीहरुको मनोवल कमजोर हुदै गएको, जीवनका हरेक क्षेत्रमा हतासा र निरासा बढ्दै गएको, संक्रमित र उसका परिवार प्रति हेर्ने सामाजिक दृष्टिकोण नकारात्मक हुंदै सामाजिक बहिस्करण जस्ता अमानवीय व्यवहार बढ्दै गएकोले सबै पक्षसंगको समन्वय र सहकार्यमा व्यापक रुपले जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्ने व्यवस्था गर्न, कोभिड–१९ का कारण करिव ६ महिना देखि सम्पूर्ण व्यवसायिक गतिबिधिहरु ठप्प रहेको हुंदा सबै व्यवसायिक कर, व्यापारी र सवारी करमा ५० प्रतिशत, सम्पत्ति करमा २५ प्रतिशत र अन्य करहरुमा कोरोनाको प्रभावका आधारमा मुल्यांकन गरी सोही अनुसार आवश्यक कर छुट गर्ने व्यवस्था गर्दै लकडाउन अवधिभरको बैंकहरुको कर्जा व्याज मिनाहा गराउन , मारमा परेका अति विपन्न, दैनिक ज्यालादारी मजदुरीको भरमा मात्र जीविकोपार्जन गरिरहेका नगरवासीहरुको राहतका लागि आसन्न नेपालीहरुको महान चाडपर्वहरुलाई समेत मध्यनजर गर्दै कम्तिमा ३ महिनाका लागि सरकारी राहत समेतको व्यवस्था सहित दैनिक उपभोग्य बस्तुहरुको छुट्टै सुपथ मुल्य पसलको व्यवस्था गरी त्यस्ता आर्थिक दयनीय अवस्थामा रहेका नगरवासीहरुलाई उद्धार गरेर त’रुन्त राहतको प्याकेज ल्याउन र कोभिड–१९ को प्रभावलाई आधार बनाई महंगी, कालोवजारी, असामाजिक गतिबिधिहरु दिनदिनै बढ्दै गैरहेको, प्रश्रय पाईरहेकोले यस्ता कृयाकलापहरु तुरुन्त नियन्त्रण गर्न पनि विज्ञप्ती मार्फत स्थानीय सरकारको ध्यानाकर्षण गराइएको छ ।

बैठकपछि जारी प्रेस विज्ञप्तीमा पार्टीका नगर अध्यक्ष भीम पौडेल, नगर समन्वय समिति अध्यक्ष एवम उपाध्यक्ष टंक प्रसाद सिटौला र सचिव अर्जुनकृष्ण रेग्मीले हस्ताक्षर गरेका छन् । केन्द्रीय सदस्य एवं प्रदेश सचिव बासुदेव भट्टराई, क्षेत्रीय अध्यक्ष बिजय बराल, क्षेत्रीय सचिव हेम सुवेदीको बिशेष उपस्थितिमा बसेको बैठकले पार्टी संगठन सुदृढिकरण सम्बन्धि अन्य महत्वपूर्ण निर्णयहरु समेत गरेको जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्