प्रदेश सरकारले विद्यालयमा सिकाइ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने

विराटनगर, १२ भदौ: प्रदेश नं १ को सरकारले कोभिड–१९ का कारण बन्द विद्यालयहरुमा सिकाइ शैक्षिक कार्यक्रम सञ्चालनको तयारी शुरु गरेको छ । विगत पाँच महिनादेखि बन्द विद्यालयहरुमा शैक्षिक गतिविधि ठप्प भएकाले त्यसलाई पुनः सञ्चालन गर्न विद्यालयमा सिकाइ कार्य शुरु गर्न लागिएको हो ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले स्थानीय तहका प्रमुख-उपप्रमुख तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिसँग परामर्श गरी विद्यालयमा सिकाइ सञ्चालनको मार्गनिर्देशन तयार गर्न दिएको निर्देशनअनुसार मन्त्रालयको शैक्षिक महाशाखाले छलफल गरी सुझाव सङ्कलन गरेको छ ।

मन्त्री घिमिरेले मन्त्रालयले विद्यालयमा सिकाइ सञ्चालनका लागि सङ्घीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने बताए । उनले मन्त्रालयले प्राप्त गरेको सुझावअनुसार चाँडै बैठक बसेर निष्कर्षमा पुगिने पत्रकारहरुलाई आज बताए ।

मन्त्रालयले स्थानीय तहका प्रमुख-उपप्रमुख, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख, शिक्षक महासङ्घ, प्याब्सन, एनप्याब्सन र अभिभावक सङ्घसँग छलफल गरी सङ्कलन गरेको सुझाव शिक्षा मन्त्रालयसमक्ष पेश गरेको छ ।

मन्त्रालयले विद्यालयमा असोजदेखि सिकाइ सञ्चालनको सुझाव दिएको छ । सिकाइ सञ्चालनअघि भदौभित्रमा विद्यार्थीको अभिलेखीकरण गरिसक्नुपर्ने, विद्यालयमा रहेका क्वारेन्टिन, आइसोलेसन सेन्टर र होल्डिङ सेन्टर हटाउनुपर्ने सुझाव दिएको छ । यसैगरी कक्षा सञ्चालनपूर्व विद्यालयमा निर्मलीकरण गर्नुपर्ने, बन्दाबन्दीका कारण घरमा रहेका र अहिले विभिन्न स्थानमा निषेधाज्ञा रहेकाले शिक्षकलाई विद्यालयसम्म पुग्नका लागि सहज वातावरण बनाउनु पर्ने सामाजिक विकास मन्त्रालयले सुझाव दिएको छ ।

मन्त्रालयले बिहान र दिउँसो दुई चरणमा विद्यालय सञ्चालन गर्नुपर्ने समेत सुझाव दिएको छ । यसैगरी अन्य सुझावमा जोर बिजोर विद्यार्थी (रोल नम्बरका आधारमा) जोरबिजोर कक्षा सञ्चालन गर्नु पर्ने, स्थानीय तहमा प्रत्येक विद्यालयको शिक्षक सदस्य रहने गरी कोभिड टास्क टिम तयार गर्ने र टिमको सुझावअनुसार विद्यालय सञ्चालन गर्न सकिने सुझाव दिएको छ ।

मन्त्रालयले कक्षा ११ को आन्तरिक मूल्याङ्कन गरेर १२ कक्षा अविलम्ब सञ्चालन गर्न सुझाव दिएको छ । मन्त्रालयले विभिन्न क्षेत्रका व्यक्तिसँग गरेको छलफलमा निर्मलीकरण गरेर छिटोभन्दा छिटो विद्यालय सञ्चालन गर्नुपर्ने, कम विद्यार्थी भएका विद्यालयबाट पठन पाठन शुरु गर्नुपर्नेमा जोड दिएको छ ।

प्रदेशमा १३५ विद्यालय र ६ वटा क्याम्पसमा अहिले पनि क्वारेन्टिन रहेको र दुई वटा विद्यालयमा होल्डिङ सेन्टर, तीन विद्यालय र एउटा क्याम्पसमा आइसोलेसन केन्द्र सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ । प्रदेशका सात हजार १३७ विद्यालयमा करिब १२ लाख ४० हजार विद्यार्थी अध्ययनरत रहेको मन्त्रालयले जनाएको छ ।-रासस/

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्