समुदायमा संक्रमण देखिएपछि प्रदेश १ मा पिसिआर परीक्षणको दायरा दोब्बर

LAKE SUCCESS, NY - MARCH 11: A lab technician begins semi-automated testing for COVID-19 at Northwell Health Labs on March 11, 2020 in Lake Success, New York. An emergency use authorization by the FDA allows Northwell to move from manual testing to semi-automated. (Photo by Andrew Theodorakis/Getty Images)

विराटनगर, २९ साउन । समुदायस्तरमा कोरोना संक्रमण हुन थालेपछि प्रदेश १ सरकारले पिसिआर परीक्षणको दायरा दोब्बर बनाएको छ । दैनिक एक हजारसम्म परीक्षण गर्दै आएकोमा बुधबारदेखि परीक्षणलाई दोब्बर बनाइएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत रहेको कोरोना सूचना डेस्कका अनुसार बुधबार एकै दिन प्रदेशमा १८ सय ७८ जनाको कोरोना परीक्षण गरिएको थियो ।

प्रदेशमा हालसम्म विराटनगरस्थित कोसी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र सुनसरी धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र भद्रपुरको मेची अस्पतालबाट कोरोना परीक्षण हुँदै आएको छ ।

समुदायस्तरमा कोरोना सक्रमण हुन थालेसँगै पालिकाहरूले स्वाब संकलन गरेर परीक्षणका लागि पठाउने गरेका थिए । तर, परीक्षणको दायरा बढ्न नसक्दा नतिजा प्राप्त गर्न निक्कै ढिलो हुने गरेको थियो । नतिजा ढिलो हुँदा स्वाब दिएका व्यक्ति र उनको परिवार मात्र नभएर जनप्रतिनिधिहरूसमेत तनावमा पर्ने गरेका थिए ।

संकलन गरेको स्वाब तीन दिन अर्थात् ७२ घन्टाभित्र परीक्षण गरिसक्नुपर्दछ । तर, चार दिनसम्म पनि रिपाेर्ट नआएको भन्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले मुख्यमन्त्री, सामाजिक विकासमन्त्रीलाई पटकपटक परीक्षणको दायरा बढाउन अनुरोध गर्नुपरेको थियो ।

यस्तै नागरिक समाजको तर्फबाट पनि कोरोना तीव्र रूपले संक्रमण भइरहेको, तर परीक्षणको नतिजामा हदैसम्म ढिलाइ भइरहेको भन्दै सरकारको चर्को आलोचना भएको थियो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख जयवेन्द्र यादवका अनुसार प्रदेश सरकारले स्विस सरकारबाट प्राप्त भएको थप दुईवटा मेसिन प्रयोग गर्न थालेको छ ।

एउटा मेसिन विराटनगरस्थित प्रदेश प्रयोगशालाको ल्याबमा र अर्को झापाको भद्रपुरस्थित मेची अस्पतालमा प्रयोग गरिँदै छ । दुवै मेसिनका क्षमता प्रतिघन्टा ९६ वटा नमुना संकलन गर्न सक्नेछ ।

प्रदेश प्रयोशालाको मेसिन पूर्ण अवस्थामा सञ्चालन हुन थालेको छ । तर, मेची अस्पतालको मेसिन जडान भएर आन्तरिक परीक्षण गर्ने काम भइरहेको छ । प्रमुख यादवका अनुसार मेचीको मेसिनले पनि परीक्षणको नतिजा दिन थालेपछि दायरा दैनिक दुई हजारभन्दा बढेर जानेछ ।

यता विराटनगरस्थित कोसी अस्पतालमा बिग्रिएको एउटा मेसिन पनि बनाएपछि सञ्चालन भइसकेको छ । धरानको बिपी प्रतिष्ठानमा पनि एउटा छिटाे परीक्षण गर्न सक्ने मेसिन थपिएको छ ।

हाल कोसीमा एक, प्रदेश प्रयोगशालामा तीन र बिपीमा दुईवटा मेसिन सञ्चालन भइरहेका छन् । मेसिन थपिएपछि काम गर्ने प्राविधिक जनशक्ति र काम गर्ने समय पनि बढाइएको छ । प्रयोगशाला प्रमुख यादवका अनुसार पहिले प्रदेश प्रयोगशालामा सातजना मात्र प्राविधिक थिए भने हाल बढाएर १२ जना पुऱ्याइएको छ ।

बिपीमा १८, कोसीमा आठजना प्राविधिकले नियमित काम गरिरहेका छन् जसले गर्दा दैनिक एक हजारसम्म मात्र परीक्षण हुँदै आएको पिसिआरको दायरा अब दुई हजारभन्दा बढाएर लान सकिने अवस्था बनेको छ ।

प्रदेश १ मा पिसिआर परीक्षणको दायरा दोब्बर बनाए पनि अझै पर्याप्त भने भएको छैन । किनभने कोरोना संक्रमण समुदायस्तरमा गइसकेकोले संक्रमणदर अझै तीव्र गतिमा फैलन पनि सक्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्