नेपालमा कोरोना संक्रमित २१ हजार नाघे, मृतकको संख्या ५८ पुग्यो

  • 20
    Shares

काठमाडौँ, २० साउन । नेपालमा आज थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

हाल अहिले क्वारेन्टाइनमा १० हजार ४५२ जना रहेका छन् । उनका अनुसार पछिल्लो २४ घण्टामा सात हजार ६८७ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर ५ हजार ९२५ जना कोरोनाका सक्रिय संक्रमित छन्।

नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १५ हजार २६ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६५ जना संक्रमण मुक्त भएका छन् । ७१.५१ प्रतिशत संक्रमित निको भएको प्रवक्ता गौतमले बताए ।

नेपालमा आज कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै भाइरस कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ । मृत्यु हुनेमा मोरङ जिल्लाका ७७ वर्षीय पुरुष रहेका छन् । मृतकमा मधुमेह तथा श्वासप्रश्वास सम्बन्धि समस्या रहेको थियो ।

मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्ला रौतहट, महोत्तरी र कैलाली हुन् । अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने चार पुगेको छ । प्रवक्ता गौतमका अनुसार भोजपुर, संखुवासभा, मनाङ र मुस्ताङमा कोरोना संक्रमण शून्यमा झरेको हो ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्