यूएईमा रहेका नेपालीलाई नआत्तिन दूतावासको आग्रह

काठमाण्डौ – यूएईबाट नेपाल फर्कनको लागि फारम भरेर बसेका नेपालीलाई नआत्तिन त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।

नेपाल सरकारले विदेशमा रहेका नेपालीलाई क्रमशः स्वदेश फर्काउने तयारी गरिरहेको भन्दै दूतावासले उडानको मिति र तालिका प्राप्त हुनासाथ जानकारी गराउने जनाएको छ ।

यस्तै नेपाल फर्कनुअघि कोभिड १९ को परीक्षण गर्नको लागि यूएई सरकारसँग समन्वय गरी मिति, स्थान र समयका बारेमा पनि जानकारी गराइने दूतावासले जनाएकोे छ ।

विभिन्न खालको भिसाको म्याद सकिएको विषयमा चिन्ता नलिन पनि दूतावासले अनुरोध गरेको छ । यूएई सरकारले मार्च १ पछि समाप्त भएका भिसाको म्याद डिसेम्बर २०२० सम्मका लागि स्वतः नवीकरण गर्ने निर्णय गरिसकेको छ । मार्च १ अघि भिसा समाप्त भएकाहरुका लागि पनि जुन १ देखि लागू हुने गरी ३ महिनाभित्र स्वदेश फर्केमा सबै जरिवाना छुट गर्ने भएकाले भिसाको विषयमा चिन्ता नलिन दूतावासको आग्रह छ ।

यस्तै दूतावासले वेबसाइटमा फारम पेश गरिसकेपछि स्क्रिनमा देखाएको धन्यवाद र गोपनीयता सम्बन्धी सन्देश नै फारम पेश भएको कन्फर्मेशन भएकाले एकपटक फारम भरेपछि ढुक्क भएर बस्न पनि आग्रह गरेको छ ।

दूतावासले इमेल र टेलिफोनको चाप बढी भएकाले कतिपय अवस्थामा दोहोरो सम्पर्क हुन नसकेको भन्दै आफ्नो समस्या अनुसार सम्पर्क गर्न फरक–फरक सम्पर्क नम्बर तोकेको छ ।

गर्भवती, कोभिड बाहेकका बिरामी, आफन्त गुमाएकाहरु, विद्यार्थी तथा इन्टर्नसिप गरिरहेकाहरुले रीता धिताललाई ०५०८१८०२८० नम्बरमा सम्पर्क गर्न सकिने छ ।

यस्तै व्यक्तिगत तथा कम्पनी भिसा र भिजिट भिसाको समस्या भएकाले निर्मला थापा र मोतिराम भुसाललाई ०५४५०५३२५० मा सम्पर्क गर्न सकिनेछ । पासपोर्ट र प्रमाणीकरणको लागि नारायण ज्ञवालीलाई ०५८९०९५४०४ मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ । आफ्ना समस्या इमेल [email protected] मा पनि पठाउन सकिनेछ ।

हवाइ उडान सञ्चालन नहुँदासम्मका लागि गैरआवासीय नेपाली संघ र नेपाली समाजसँगको सहकार्यमा राहत वितरण कार्यलाई निरन्तरता दिइने पनि दूतावासले जनाएको छ । उज्यालो अनलाईनबाट

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्